म्याग्दी २०७७।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका लागि ‘ई-क्लास नेपाल‘ नेपाल नामको मोबाइल एप सार्वजनिक गरेको छ । पाठ्यक्रम पाठ्यपुस्तक, विभिन्न खालका शिकाई सामग्री प्रदान मिल्ने गरी एप तयार पारिएको हो ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसपछि नयाँ तरिकाले शैक्षिक क्षेत्र अघि बढाउने उद्देश्य अनुरुप एप सार्वजनिक गरिएको बताए । उनका अनुसार कक्षा १० सम्मका अनिवार्य विषयका सामग्री राखिएको मोबाइल एप विद्यालय तथा शिक्षक समक्ष पुर्याउने सरकारको योजना रहेको छ।
सामान्य मोबाइल र इन्टरनेटको सहायतामा यो एपमा गएर पढ्न सकिने सामग्री उपलब्ध हुनेछन् । यसबाट मुख्य गरी विद्यालय तहका विद्यार्थी लाभान्वित हुने मन्त्री पोखरेलको भनाई छ ।
मन्त्रालयका सचिव गोपीनाश्च मैनालीले विद्यार्थी शिक्षकको सिकाई अभिवृद्धि गर्न मोबाइल एप उपयोगी हुने विचार व्यक्त गरे । हाल यो एप एन्ड्रोइड मोबाइलका लागि मात्र उपलब्ध छ ।
अबको एक दुई हप्तामा आईओएस एप स्टोरमा समेत आउने शिक्षा विभागका महानिर्देशक बैकुण्ठ अर्यालले जानकारी दिए । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले तयार पारेका सामग्री रहेको सिकाई चौतारीको वेबसाइटमा पहुँच पाउन झन्झटिलो भए पछि सहजताका लागि एप तयार पारिएको हो ।
तर यसमा पोर्टलमा भन्दा बढी सामग्री राखिएका छन् । यस अघिदेखि टेलिभिजनबाट प्रशारण भइरहेका कक्षाहरुको समेत भिडियो सामग्री एपमा पाउन सकिन्छ ।
यसमा रहेका सामग्रीमा कक्षागत, पाठगत र विषयगत रुपमा विद्यार्थीले सहजै पहुँच बनाउन सक्ने अर्यालले बताए । एपमा शिक्षक निर्देशिका, टेक्ट बुक (पीडीएफ फर्म्याटका पुस्तक) विद्यार्थी मूल्याङ्कन सामग्रीलाई व्यवस्थित रुपमा राखिएको छ ।
शिक्षक निर्देशिकामा भने शिक्षकबाट रजिस्टर गरेपछि मात्र पहुँच पाउन सकिनेछ । एपमा नमूना प्रश्नपत्र समेत राखिएका छन् ।
यसरी प्रयोग गर्नुहोस् एप
एन्ड्रोइडमा यो एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
अब एप खोल्नुहोस् र विद्यार्थी वा शिक्षक कुन रुपमा रजिस्टर हुन चाहनुहुन्छ रोज्नुहोस् ।
यदि विद्यार्थीको रुपमा रजिस्टर हुन चाहुनुहुन्छ भने स्टुडेन्ट रजिस्ट्रेसन लेखिएको निलो बटनमा थिच्नुहोस् ।
अब त्यसमा आफ्नो नाम, फोन नम्बर, जिल्ला, वडा नम्बर, कक्षा र अभिभावकको नाम जस्ता विवरण भरेर सबमिट थिच्नुहोस् ।
यतिगरेपछि तपाईं एपभित्र पुग्नुहुनेछ । त्यसमा आफ्नो कक्षा छनौट गर्नुहोस् ।
अब त्यहाँ रहेका विषयहरु छानेर पुस्तक पढ्न, ट्युटोरियल हेर्न, पाठ्यक्रम थाहा पाउन, नमूना प्रश्नपत्र चेक गर्न सक्नुहुनेछ ।