म्याग्दी । (2077) पाठशाला CUG सिम’ वितरण गर्ने सम्बन्धी सूचना
नेपाल सरकार, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको ' विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ ’ मा प्रस्तुत कार्यविधि अनुसार सार्वजनिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउन सार्वजनिक विद्यालय, स्थानीय तह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विद्यार्थी र शिक्षकलाई मोबाइल सेवाको Closed User Group (CUG) मा आबद्ध गराउने योजना रहेको छ । सोही बमोजिम नेपाल टेलिकमले सम्पूर्ण सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यलाई आवश्यकता अनुसार ‘पाठशाला CUG सिम’ (प्रिपेड मोबाइल सिमकार्ड) निःशुल्क उपलब्ध गराउने र शैक्षिक संस्थाका विद्यार्थी, शिक्षक तथा विद्यार्थीका परिवारको कुनै एक सदस्यले हाल प्रयोग गरिरहनु भएका नेपाल टेलिकमका GSM तथा CDMA सेवाका प्रिपेड मोबाइल नम्बरहरु वा उहाँहरुलाई निःशुल्क प्रदान गरिएका प्रिपेड मोबाइल नम्बरहरुलाई Closed User Group (CUG)मा आबद्ध गर्न सकिने व्यवस्था रहेको छ ।
पाठशाला CUG सिम निःशुल्क प्राप्त गर्ने प्रक्रियाः
यस व्यवस्था अनुसार निःशुल्क रुपमा उपलब्ध गराइने प्रिपेड सिमकार्ड (पाठशाला CUG सिम) प्राप्त गर्न निम्न अनुसारको व्यवस्था गरिएको छ ।
१. सरकारी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, अध्ययनरत विद्यार्थी र विद्यार्थीका परिवारको कुनै एक सदस्यले एउटा निःशुल्क सिमकार्ड प्राप्त गर्न सक्नेछन् । विद्यार्थीका लागि सिमकार्ड लिंदा विद्यार्थीको वा अभिभावकको नाममा लिन सकिनेछ ।
२. निःशुल्क सिमकार्ड प्राप्त गर्नका लागि शिक्षक, विद्यार्थी तथा अभिभावकले कम्पनीले निर्धारण गरेको प्रिपेड मोबाइलको आवेदन फाराम रितपूर्वक भरी आफू संलग्न सार्वजनिक विद्यालयमा बुझाउनु पर्नेछ । आवेदन फारामका साथमा निम्नअनुसार कागजपत्र समावेश गरेको हुनुपर्नेछ :-
(क) विद्यार्थीको लागिः
अ) विद्यार्थीको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वारा विद्यार्थी प्रमाणित गरिएको कागजात।
आ) विद्यार्थीको नागरिकता प्रमाणपत्रको प्रतिलिपी वा विद्यार्थीको नागरिकता नभएमा अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।
इ) विद्यार्थीको एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
(ख) शिक्षकको लागिः
अ) शिक्षकको परिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराशिक्षक प्रमाणित गरिएको कागजात।
आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
(ग) अभिभावकको लागिः
अ) आफुसंग सम्बन्धित विद्यार्थीकोपरिचयपत्रको प्रतिलिपी वा सम्वन्धित विद्यालयद्वाराअभिभावक प्रमाणित गरिएको कागजात।
आ) नागरिकता प्रमाणपत्रको प्रतिलिपी।
इ) एक प्रति फोटो (आवेदन फारामको निर्धारित स्थानमा टाँस्नुपर्ने) ।
३. विद्यार्थीले अभिभावकको नाममा सिमकार्ड लिने भएमा रितपूर्वक आवेदन फाराम भरी अभिभावकको नागरिकताको प्रतिलिपी संलग्न गरी सम्बन्धित विद्यालयमा बुझाउनु पर्नेछ ।
४. बुँदा नं. २ र ३ बमोजिम विद्यालयमा आवेदन फाराम संकलन भएपश्चात विद्यालयले आवेदन फाराम र संलग्न कागजात रुजु गरी स्थानीय तहको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सबैजनाको सिमकार्ड एकमुष्ट प्राप्त गर्न सकिने छ ।
पाठशाला CUG सिमकार्ड प्राप्त गर्न भर्नु पर्ने Prepaid Mobile को फारम डाउनलोड गर्न यस लिंकमा क्लिक गर्नुहोसः-
Closed User Group (CUG)मा आबद्ध हुने प्रक्रियाः
CUG मा आबद्ध हुन चाहेका सार्वजनिक विद्यालयका शिक्षक, विद्यार्थी र विद्यार्थीको एक अभिभावकको मोबाइल नम्बरको विवरण निम्न बमोजिम ढाँचामा विद्यालयले आफ्नो लेटर प्याडमा उल्लेख गरी स्थानीय निकायको सिफारिश पत्रसहित नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गर्नु पर्नेछ । सम्भव भएसम्म विद्यालयले आफ्नो विद्यालयको पाठशाला CUG मा आवद्ध हुने शिक्षक, विद्यार्थी र अभिभावकहरुको नाम र मोवाईल नम्वरहरुको विवरणको Softcopy (Excel/Word File) उपलब्ध गराउनु पर्ने छ।
क्र. सं. | नाम | विद्यार्थी/शिक्षक/कर्मचारी/ अभिभावक | कक्षा (अभिभावक भए विद्यार्थीको कक्षा उल्लेख गर्नुहोस्) | मोबाइल नम्वर अभिभावकले प्रयोग गर्ने भएमा विद्यार्थीको नाम उल्लेख गर्नुहोस् | मोबाइल नम्बर | कैफियत
|
१. | रामबहादुर लामा | विद्यार्थी | १ | - | ९८४१०००००० |
|
२. | शिवराम भण्डारी | अभिभावक | ३ | सीता भण्डारी | ९८४१४०६८९० |
|
|
|
|
|
|
|
|
प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुलाई कम्पनीको Closed User Group (CUG)मा आबद्ध गर्न प्रति मोबाइल नम्बर नेपाल सरकारको कर (TSC, VAT & OT) बाहेक मासिकशुल्क रु ९९।- लाग्नेछ भने नेपाल सरकारको सम्पूर्ण कर सहित प्रति मोबाइल नम्बरका लागि मासिकशुल्क जम्मा रु.१२९।- लाग्नेछ । यस सेवा अन्तर्गत CUG भित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (https://learning.cehrd.edu.np)चलाउन ५ जिबी डाटासेवा र बल्क एसएमएस (CUG मा समावेश भएका सम्पूर्ण नम्बरहरुमा आफ्नो विद्यालयबाट पठाउनु पर्ने सूचना तथा जानकारी बल्क एसएमएसमार्फत पठाउन सकिने) सुविधा समेत उपलब्ध गराइने छ ।
पाठशाला CUGसम्बन्धी थप जानकारी :-
१. CUG सेवा लिनका लागि विद्यालयले माथि उल्लेखित टेबलको ढाँचामा विद्यार्थी, शिक्षक, अभिभावक र कर्मचारीहरुको नम्बरको विवरण (सम्भव भए सम्म Soft copy सहित) तयार गरी सम्बन्धित स्थानीय तहबाट सिफारिस गराई नेपाल टेलिकमको नजिकको कार्यालयमा उपलब्ध गराउने ।
२. CUG सेवा सक्रिय गर्नु अघि CUG अवधिभरका लागि लाग्ने शुल्क नेपाल टेलिकमलाई एकमुष्ट भुक्तानी गर्नुपर्ने ।
३. स्थानीय तहको सिफारिसमा विद्यालयबाट माग भई आउने CUG सेवा वापतको एकमुष्ट रकम भुक्तानी गर्नको लागि सम्बन्धित विद्यालयलाई कम्पनीको राजश्व खाताको विवरण उपलब्ध गराईने छ र विद्यालयले कम्पनीको काउन्टरमा आई अथवा Digital Payment को माध्यमबाट समेत उक्त खातामा रकम जम्मा गर्न सक्ने छन्।
४. स्थानीय निकायबाट सिफारिश भई आएका मोबाइल नम्बरहरुमा माग भईआएको समय अवधी सम्मको CUG बापतकोशुल्क एकमुष्ट भुक्तानी भए पश्चात् नेपाल टेलिकमलेविवरण अनुसारका मोबाइल नम्वरहरु आबद्ध गरीCUG सेवा उपलब्ध गराउने छ।
५. वुँदा नं. ३ अनुसार सुचारु गरिएको CUG सेवा निरन्तर सुचारु वा नवीकरण गर्न परेमा थप अवधीको लागि लाग्ने शुल्क वापतको रकम नेपाल टेलिकमलाई एकमुष्ट भुक्तानी गर्नुपर्ने ।
६. विद्यालयद्वारा लिईएको पाठशाला CUGको अवधि समाप्त भएमा उक्त CUGमा आबद्ध नम्बरबाट हुने बाह्य कलहरु तथा डाटा सेवामा नेपाल टेलिकमको हाल कायम प्रचलित दररेट अनुसारको शुल्क लाग्नेछ।
७. पाठशाला CUG मा आवद्ध नम्वरहरुमा CUG लगायतका अन्य सेवाहरु सुचारु भइराख्नको लागिउक्त मोबाइलमा केही सञ्चित रकम (कम्तीमा रु. १) र पर्याप्त समयावधि (Validity Period)कायम रहेको हुनुपर्ने छ।
८. पाठशाला CUG मा उपलब्ध सेवाहरु (Unlimited Voice Call, https://Learning.cehrd. edu.np website चलाउन 5GB Data, Bulk SMS within CUG)बाहेकका अन्य सेवाहरु आवश्यक परेमा प्रयोगकर्ताले आफ्नो नम्बरमा आफै रिचार्ज गरेर ब्यालेन्स कायम गरी प्रयोग गर्न सक्नुहुनेछ।
९. पाठशाला CUG मा आबद्ध प्रिपेड मोबाइल नम्बरहरुको CUG समयावधी समाप्त भएपश्चात पनि सम्बन्धित शिक्षक, विद्यार्थी र अभिभावकले उक्त नम्वरलाई अन्य प्रिपेड मोवाइल प्रयोगकर्ताको मोबाइल नम्बर जस्तै निरन्तर प्रयोग गर्न सकिने छ।
१०. माथि उल्लेखित सेवाहरु सम्बन्धी थप जानकारी आवश्यक परेमा आफूलाई पायक पर्ने नजिककोदूरसञ्चार कार्यालयमा सम्पर्क गर्न सकिने छ।