आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुनियाँमा चिनियाँ अनुसन्धानकर्ताहरूले एक ऐतिहासिक सफलता हात पारेका छन् । उनीहरूले हालै एउटा बाँदरको मस्तिष्कको एआई भर्सन तयार गरी त्यसलाई कम्प्युटरमा सफलतापूर्वक उतारेका हुन् ।
‘डार्विन मङ्की’ नाम दिइएको यस परियोजनालाई ‘मस्तिष्क-जस्तै बौद्धिकता’ (brain-like intelligence) को विकासमा एक महत्त्वपूर्ण फड्को मानिएको छ । झेजियाङ विश्वविद्यालयका अनुसार यो प्रणालीमा ९६० ओटा चिप जडान गरिएका छन् । यी चिपले दुई अर्बभन्दा बढी स्पाइकिङ न्युरोन र १०० अर्बभन्दा बढी साइनाप्स (synapses) सपोर्ट गर्न सक्ने बताइएको छ ।
यो सङ्ख्या लगभग एउटा ‘मकाकी’ प्रजातिको बाँदरको मस्तिष्कमा हुने न्युरोनको सङ्ख्या बराबर हो । यो हालसम्मकै विश्वको सबैभन्दा ठुलो ‘न्युरोमोर्फिक’ अर्थात् मस्तिष्कको संरचनामा आधारित कम्प्युटर हो । यस परियोजनाको एआई प्रविधिलाई च्याटबटभन्दा अत्याधुनिक मानिएको छ । यसले गर्दा जीवित प्राणीको मस्तिष्कको नक्कल गर्ने दिशामा नयाँ सम्भावना खुलेको भन्दै चर्चा हुन थालेको छ ।
‘डार्विन मङ्की’ले अप्रिल २०२४ मा इन्टेलले सार्वजनिक गरेको ‘हाला प्वाइन्ट’ नामक न्युरोमोर्फिक कम्प्युटरलाई समेत पछि पारेको छ । इन्टेलको हाला प्वाइन्टमा १.१५ अर्ब न्युरोनहरू थिए । यो भनेको लगभग एउटा लाटोकोसेरोको मस्तिष्कको क्षमता बराबर हो ।
कसरी भयो विकास ?
झेजियाङ विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् २०२० मा १२० मिलियन न्युरोन भएको ‘डार्विन माउस’ (मुसा) को विकास गरेका थिए । त्यसपछि सन् २०२३ को सुरुमा झेजियाङ प्रयोगशालासँगको सहकार्यमा ‘डार्विन ३’ चिप्स तयार गरियो । र, अन्ततः अहिले ‘डार्विन मङ्की’को जन्म भएको हो ।
यस प्रणालीले चीनको ‘डिपसिक’ (DeepSeek) एआई मोडेल प्रयोग गरेको छ । जसले गर्दा यस टुलले तर्क गर्न, सामग्री सिर्जना र गणितीय समस्या समाधान जस्ता बौद्धिक काम गर्न सक्छ । यसका लागि एउटा नयाँ अपरेटिङ सिस्टम पनि बनाइएको छ । यसले प्रणालीको स्रोतलाई कुशलतापूर्वक व्यवस्थापन गरी ऊर्जा खपत घटाउने बताइएको छ ।
अब मानव मस्तिष्कको पालो आएको हो ?
यो सफलतापछि के अब मानव मस्तिष्कको नक्कल गर्न सम्भव छ भन्ने प्रश्न उठेको छ । तर अनुसन्धानकर्ताका अनुसार यसका लागि अझै लामो समय लाग्नेछ । मकाकी बाँदरहरू बौद्धिक भए पनि मानिस जस्तो सोच्न सक्दैनन् ।
विशेषगरी मानिसको बोली र भाषासँग सम्बन्धित मस्तिष्कको संरचना उनीहरूमा हुँदैन । यद्यपि यदि यो कृत्रिम मस्तिष्कलाई रोबोटिक शरीरसँग जोड्न सकिएमा ‘रोबोट बाँदर’को निर्माण भने अब धेरै टाढा छैन ।
यस प्रविधिको मुख्य उद्देश्य हालको एआई मोडलको अत्यधिक ऊर्जा खपत र कम्प्युटेसनल जटिलतालाई कम गर्नु हो । विश्वविद्यालयका अनुसार ‘डार्विन मङ्कीको अनलाइन लर्निङ क्षमताले एआईको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ ।
Source : Techpana