सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । त्यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको हो । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको जनाइएको छ । आवेदन दिँदा विद्यार्थीले लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस समेत उपलब्ध गराउनु पर्ने जनाइएको छ । यसमा आउँदो असार ९ गतेसम्म आवेदन दिन सकिने प्रवर्द्धन केन्द्रले जनाएको छ ।
यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् । अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।