स्याङ्जाकाे भीरकोट नगरपालिका २ स्थित दहथुम माध्यमिक विद्यालयबाट याे अफलाइन एपको डेमो परीक्षण गरिएको हाे । परीक्षण प्रभाकारी भएमा गण्डकी प्रदेशका एक हजार ४ सय ४८ वटा विद्यालयका कक्षा ६ देखि १२ कक्षा सम्मका करिब ३ लाख ६५ हजार विद्यार्थी लाभान्वित भएको आंकलन प्रदेश मन्त्रालयको छ।
कक्षा ६ देखि १२ सम्मका विद्यार्थीले अब मोबाइलबाटै भिडिओसहित सबै विषयमा अफलाइन कक्षा लिन सक्नेछन् । अफलाइन एप डाउनलोड गरेपछि विद्यार्थीले आफूले चाहेको विषयमा अध्ययन गर्न पाउँछन् ।
कोभिड-१९ को असरका कारण विद्यालयमा उपस्थित भई पठनपाठन गर्न नपाएपछि वैकल्पिक शिक्षाका लागि संघ, प्रदेश र स्थानीय सरकारले सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई प्राथमिकता दिँदै आएका छन् ।
प्रदेश सरकारले ‘पीडी स्मार्ट एजुकेसन’ नामक संस्थाको समन्वयमा ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ नामक एपको प्रयोग गरी अफलाइन कक्षा सञ्चालन गरेको हो ।
संस्थाका सीईओ गणेश जोशीले नेपाल सरकारको नँया पाठ्यक्रमअनुसार स्वीकृति लिएर पठन सामग्री निर्माण गरिएको जनाए ।
‘पीडी स्मार्ट एजुकेसन’ले ‘इजी लर्निङ’को अवधारणा अनुसार विगत तीन वर्षदेखि प्रयास गरिरहेको छ । सुरुवाती दिनमा यसको माग खासै नदेखिएको भएपनि निषेधाज्ञा वा लकडाउनका बेला लोकप्रियता बढिरहेको छ ।
६ देखि १२ कक्षासम्मका विद्यार्थीहरुका लागि लक्षित गरी बनाइएको एपमा पाठ्यक्रममा आधारित डकुमेन्ट्रीहरु उपलब्ध छन् । सबै भिडिओ डकुमेन्ट्रीहरु विषय विशेषज्ञद्वारा निर्माण गरिएको छ । जसले गर्दा सिकाइ स्तरीय र प्रभावकारी हुने देखिन्छ ।
अनलाइन क्लास नहुँदा पनि यसलाई विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । यस एपमा अन्य विषय र पाठ्यक्रमका शैक्षिक सामग्रीहरु पनि उपलब्ध छन् ।
‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एपको प्रयोग गर्न एक पटक मात्र इन्टरनेटको जरुरत पर्दछ । संस्थाले एप डाउनलोड गर्दा मोबाइलमा एप सेटअपका लागि सिरियल की उपलब्ध गराउँछ ।
एकपटक एप सेटअप भइसकेपछि एक वर्षसम्म चलाउन मिल्छ । विद्यार्थीहरुले एपमा आफूले चाहेको विषय छानेर पढ्न सक्छन् । सिकाइको क्रममा द्विविधा भए उनीहरुले कमेन्ट गर्न मिल्ने व्यवस्था गरिएको छ । ‘पीडी स्मार्ट अफलाइन इजी लर्निङ’ एप गुगल प्ले स्टोरबाट मोबाइलमा सजिलै डाउनलोड गर्न सकिन्छ ।
सरकारको सहयाेग भएमा ‘स्मार्ट एजुकेसनले’ एक महिनाभित्रै देशभर सेवा उपलब्ध गराउन सक्ने संस्थाका सीईओ जोशीको भनाइ छ । यसअघि ‘स्मार्ट एजुकेसनले निजी शैक्षिक संस्थाहरुसँग पनि समन्वय गरिसकेको छ ।