![]() |
बजार पसल सबै बन्द रहेको अहिलेको अवस्थामा कम्प्युटरको कीबोर्ड नै बिग्रिन सक्छ । यस्तोमा नयाँ कीबोर्ड खरिद गर्ने वा पुरानै कीबोर्ड बनाउने उपाय पनि हुँदैन ।
अब के गर्ने त ? तर चिन्ता नलिनुहोस् । यसका लागि माइक्रोसफ्ट विण्डोजमा अन स्क्रिन कीबोर्डको विकल्प दिइएको हुन्छ । जसको सहयोगमा तपाईं माउसबाट नै टाइपिङ गर्न सक्नुहुन्छ ।
यति मात्र होइन, तपाईंले माउसको सहयोगमा केही एक्स्टेन्सन डाउनलोड गरेर समेत टाइपिङको कामलाई सुचारु राख्न सक्नुहुन्छ ।
यसरी प्रयोग गर्नुहोस् अन स्क्रिन कीबोर्ड
यसका लागि सुरुमा आफ्नो कम्प्युटरको स्टार्ट मेनुमा जानुहोस् ।
अब त्यहाँ रहेको सेटिङमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले विभिन्न अप्सनहरु देख्नुहुनेछ ।
त्यसमध्ये इजी एक्सेसको विकल्प रोज्नुहोस् ।
अब बायाँ कुनामा रहेको सूचीमा रहेको कीबोर्डमा जानुहोस् ।
यति गरिसकेपछि तपाईंले त्यहाँ ‘युज द अन स्क्रिन कीबोर्ड’लाई अन गर्नुहोस् । अब तपाईंले यसबाट माउसको सहयोगमा क्लिक गर्दै टाइपिङ गर्न सक्नुहुनेछ ।
बोलेर टाइप कसरी गर्ने ?
यदि तपाईं माउसबाट टाइपिङ गर्न सकिरहनु भएको छैन वा यसरी टाइप गर्दा झन्झट महसुस गरिरहनु भएको छ भने बोलेरै टाइप गर्ने विकल्प समेत रोज्न सक्नुहुनेछ ।
यसका लागि तपाईंले गुगल क्रोम ब्राउजरमा भ्वाइस नोट २ स्पिच टु टेक्स्ट (VoiceNote II – Speech to text) एक्स्टेन्सन डाउनलोड गर्नुपर्ने हुन्छ । यसको सहयोगमा तपाईं बोलेरै टाइप गर्न सक्नुहुन्छ ।
तपाईंलाई एक्सटेन्सन प्रयोग गर्न असहज लाग्छ भने गुगल डक्सको भ्वाइस टाइपिङ फिचर प्रयोग गर्न पनि सक्नुहुन्छ ।
यसका लागि सुरुमा गुगल डक्समा जानुहोस् (यहाँ क्लिक गरेर सोझै गुगल डक्समा जान सक्नुहुन्छ) गुगल डक्स खुलिसकेपछि माथि रहेको टुल्समा जानुहोस् ।
त्यसभित्र रहेको भ्वाइस टाइपिङ रोज्नुहोस् । यसका लागि कन्ट्रोल र शिफ्टसँगै एस की शर्टकर्ट प्रयोग गर्न पनि सक्नुहुन्छ ।
अब बायाँ भागमा एउटा माइक खुल्छ । त्यसको शिरानीमा गएर टाइप गर्न चाहेको भाषा छनौट गर्नुहोस् र बोलेकै भरमा टाइप गर्नुहोस् ।