IT पढ्न करिब २ करोडको छात्रवृत्ति प्रदान गरिँदै, यसरी दिनुहोस् आवेदन...



म्याग्दी ।  

कम्प्युटर एसोसियसन नेपाल महासंघ  (क्यान फेडेरेसन) ले नेसनल आईसीटी स्कलरशिपका लागि आवेदन खुल्ला गरेको छ । प्राविधिक शिक्षातर्फ दुई वर्षदेखि प्रदान गरिँदै आएको यो छात्रवृत्तिका लागि आवेदन खुलेको हो ।महासंघले देशभित्र सूचना प्रविधिको अध्ययन अध्यापन गर्ने कलेजहरुसँगकाे सहकार्यमा गरीब र जेहेन्दार विद्यार्थीहरुका लागि यो छात्रवृत्ति उपलब्ध गराउनेछ । जसका लागि काठमाडौं मैतिदेवी स्थित लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँग सहकार्य गरिएको छ । 

कार्यक्रममार्फत यस वर्ष ४९ जना विद्यार्थीहरुलाई आंशिक तथा पूर्ण छात्रवृत्ति प्रदान गरिने क्यानले जनाएको छ । छात्रवृत्ति कार्यक्रममा देशका सातै प्रदेशका विद्यार्थीहरुलाई समान रुपमा अवसर पाउनेछन् ।

जसअनुरुप प्रत्येक प्रदेशबाट एक जना छात्रालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने छ भने बाँकी ४२ जनालाई आंशिक छात्रवृत्ति प्रदान गरिने छ । ग्रामीण क्षेत्रमा समेत सूचना प्रविधिको विकास र सबै नागरिकमा यसको पहुँच पुर्‍याउने लक्ष्यमा यो कार्यक्रमले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

यो छात्रवृत्ति कार्यक्रमअन्तर्गत हाल २८ जना विद्यार्थीहरु अध्ययनरत छन् । यस वर्ष फिमेल मेरिट आईसीटी स्कलरशिपमा प्रत्येक प्रदेशबाट चार जनाका दरले २८ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिनेछ भने आईसीटी मेरिट स्कलरशिप अन्तर्गत प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१ जनालाई छात्रवृत्ति उपलब्ध गराइछ ।

क्यान महासंघ र कलेजबीच भएको सम्झौताअनुसार ४९ जना विद्यार्थीले कूल एक करोड ९६ लाख ४२ हजार पाँच सय रुपैयाँ बराबरको छात्रवृत्ति पाउनेछन् । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरुले मलेसियाको एसिया प्यासेफिक युनिर्भसिटी अफ टेक्नोलाजी एण्ड

इनोभेसनको सम्बन्धन प्राप्त लर्ड बुद्ध एजुकेसन फाउण्डेसनमा स्नातक तहअन्तर्गत बीएससी आईटी विषयको अध्ययनको मौका पाउने छन् ।

नेपाल सरकारबाट मान्यताप्राप्त शिक्षण संस्था बाट ५० प्रतिशत अंक सहित प्लस टू वा सो सरह अध्ययन गरेका तथा कक्षा १० को गणित विषयमा कम्तीमा ५० प्रतिशत अंक ल्याई सीटीईभीटीबाट कम्प्युटर इन्जिनियरिङमा डिप्लोमा गरेकाहरुले छात्रवृत्तिका लागि आवेदन दिन सक्नेछन् ।

छात्रवृत्तिका लागि हाल कक्षा १२ को परीक्षा कुरेर बसेका विद्यार्थीहरुले पनि आवेदन दिन सक्ने बताइएको छ ।

महासंघले यसका लागि केन्द्रीय स्तरमा निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरसियाको संयोजकत्वमा सचिवद्वय शेखर दुलाल र दीपेन्द्रकुमार सिंह रहेको छात्रवृत्ति छनौट समिति गठन गरेको छ ।

छात्रवृतिका लागि इच्छुक विद्यार्थीले क्यान महासंघको वेबसाइट र लईडबुद्ध एजुकेसन फाउन्डेसनको वेबसाइटमार्फत यही सेप्टेम्बर २५ तारिखभित्र आवेदन

दिइसक्नु पर्नेछ । आवेदन दिँदा कक्षा १२ उत्तीर्ण गरिसकेकाहरुले कक्षा १० र १२ को मार्कशिटको प्रतिलिपि तथा कक्षा १२ को परीक्षा दिन बाँकी विद्यार्थीरुले अध्ययनरत रहेको प्रमाणका साथै एउटा फोटो, नागरिकता वा जन्मदर्ता प्रमाणपत्र र स्थानीय तहको सिफारिसपत्र पेस गर्नुपर्नेछ । 

यो छात्रवृत्ति कार्यक्रम बाट डिजिटल-डिभाइड कम गर्न मद्दत पुग्ने र भविष्यमा यस कार्यमा सार्वजनिक निजी साझेदारीका लागि प्रोत्साहन मिल्ने लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका अध्यक्ष इन्जिनियर पंकज जालानले वताए ।

महासंघका अध्यक्ष नवराज कुँवरले यसबाट विपन्न वर्गका विद्यार्थीहरुलाई आफ्नो करिअर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Share:
Comments:

Copyright © Ganesh Kc Myagdi | Design by:- Ganesh Kc |